हलेसी मन्दिरमा ब्रम्हलुट , लुटकोबारे सम्बन्धित निकायमा जानकारी गराउदा राज्य मौन , सर्वोच्चको फैसला कार्यन्वयनमा राज्य पक्षबाटै अवरोध !

खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको भेटी तथा आम्दानीमा अनियमितता भइरहेकोपाइएको छ । वि. स. १८४३ सालमा तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले महादेव मन्दिरको रेखदेख गर्ने , नित्य नैमित्य पुजाआजा आदि गर्नु भनी महन्त मनोहर गिरीलाई ताम्रपत्र प्रदान गरेका थिए । ताम्रपत्रबाट श्री को महन्त भएका मनोहर गिरी पछि उनकै सन्तान राजबोल गिरीले महन्त पद सम्हाल्दै आइरहेको अवस्थामा उनको देहावसान पछि उनको ३ भाइ छोराहरु क्रमशः जेठा धन बहादुर गिरी , माइला तुलसीराम गिरी र कान्छा अमृत गिरीलाई तत्कालिन राज्य प्रमुखले खड्गनिसानी प्रदान गरि एउटै गुठीमा ३ जना महन्त बनाउन नमिल्ने भएकोले एक एक बर्षको आलोपालो गरि पुजारी भइ श्री को पुजाआजा रेखदेख आदि गर्नु भनी २००६ सालमा खड्गनिसानी प्रदान गरेका थिए ।

ताम्रपत्र र खडगनिसानीको आधारमा श्री को पुजारी भइ रेखदेख पुजा आदि महन्त मनोहर गिरीकै सन्तानहरुबाट चलिरहेको अवस्थामा २०६२ साल मंसिरमा तत्कालीन बिद्रोही पक्ष माओवादीहरुले श्री को महन्त पुजारी भवानी शंकर गिरीको घरमा राखिएको महादेवलाई पर्व पर्वमा पहिर्याउने गरगहना पुजाका सामाग्री आदि महन्त पुजारी भवानी शंकर गिरी र मुख्य पुजारी बम प्रसाद गिरी घरमा नभएको बखत सम्पुर्ण पुजाका सामाग्री लिइ गजुरमान राइको अध्यक्षतामा हलेसी महादेव मन्दिर व्यवस्थापन समिती गठन गरि महादेवको गरगहना पुजा सामाग्री आदि गजुरमान राइको जिम्मा लगाइएको थियो । द्वन्द्वकालिन समय भएको हुनाले पुजारीहरु चुप लागि बस्नुपरेको अवस्था थियो । द्वन्दपछि राज्यपक्ष र माओवादी पक्षबीच शान्तिवार्ता भएपछी पुजारीहरुको खोसिएको महादेवको सम्पुर्ण गहना पुजाका सामाग्री लगायत फिर्ता गर्न माग गरिएको भएपनि सम्बन्धित निकायहरु मौन बसिरहयो । महन्त पुजारी नियुक्ति गर्ने गुठी संस्थान , प्रशासन लगायतका निकायहरूलाई समेत फिर्ता गराउन लिखित तथा मौखिक माग गरिएको भएपनि सम्बन्धित निकायहरुले पुजारीहरुको माग सुनुवाइ गरेनन् बरु उल्टै पुजारीहरुलाई नै अवरोध हुने गरि गुठी संस्थानले मन्दिर व्यवस्थापन समिती गठन गरिदिएर पुजारीहरुको काम कर्तव्य र अधिकारमा खलल पुर्याएपछी श्री को पुजारीहरु बम प्रसाद गिरी , मन्दिप गिरी , बृजेन्द्र कुमार गिरी र अर्जुन कुमार गिरीले गुठी संस्थान केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौं , जिल्ला प्रशासन कार्यालय खोटाङ , मालपोत कार्यालय खोटाङ , प्रहरी चौकी हलेसी (हाल इलाका प्रहरी कार्यालय हलेसी ) , हलेसी महादेवस्थान विकास समिती , महादेवस्थान गाविस (हाल ७ नम्बर वडा हतुनपा) , मन्दिर व्यवस्थापन समिती , ऐ का अध्यक्ष गजुरमान राई समेतलाई विपक्षी बनाई श्री सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चमा परेको रिटमा सम्मानित अदालतले सोही दिन विपक्षीहरुको नाममा पुजारीहरुलाई परम्परा देखि चलिआएको बिधि बिधान बमोजिम पुजाआजा लगायतका काम कुरा गर्न दिनु कुनै रोकछेक नगर्नु नगराउनु भनी २०७० साल असोजमा अन्तरिम आदेश जारी गरिदिएको थियो । सर्वोच्चको रिट नं ०७०-wo-०२३९ मुद्धाको २०७२/११/०२ मा सर्वोच्च अदालतको संयुक्त इजलासले पुजारीको पक्षमा निर्णय दिदै विपक्षी हरुको नाममा परमादेशको आदेश जारी गरिदिएको थियो । रिट नं ०७०-wo-०२३९ को निर्णयलाई सर्वोच्च अदालतले प्रकाशन गर्ने कानुन पत्रीकामा समेत समावेश गरि कानुनको रुपमा प्रकाशन गरिसकेको छ (नेपाल कानुन पत्रीका , अंक-५ भाग (५८ , २०७३ भदौ , पेज ९५८) । अदालतको फैसला भएको ८ बर्ष बित्नै लाग्दा पनि फैसला कार्यान्वयन हुन सकिरहेको छैन । मन्दिरको भेटी तथा आम्दानी हरु अधिकारै नभएको नगरपालिका , मन्दिर समिती र विकास समितिको नामबाट अनाधिकृत रुपमा भेटी तथा आम्दानी माथी हातपात गरि खर्च गर्ने गरेको पाइएको छ ।

सर्वोच्चको फैसला कार्यान्वयनका लागि रिट निवेदकहरु पुजारी नियुक्ति , गरगहना फिर्ता लगायतका लागी गुठी संस्थानमा पटकपटक निवेदन गरेको भएपनी संस्थानले फैसला कार्यान्वयनमा ध्यान दिएको छैन बरु अदालतको आदेश विपरीत मन्दिर समिती निर्माण गर्न दौडधुप गरिरहेको छ । पुजारीको जिम्मामा रहनुपर्ने महादेवको गरगहना पुजारीले विपक्षी बनाइ सर्वोच्चमा हालेको रिटका विपक्षी एवम् कथित मन्दिर समितिका पुर्व अध्यक्ष गजुरमान राइले आफुखुसी राखिरहेका छन् । हुँदै नभएको मन्दिर व्यवस्थापन समितिको नाममा मन्दिरको भेटी माथी हातपात गरि खर्च गरिएको छ , गुठी अधिनस्थ श्री हलेश्वर महादेव राजगुठीलाई गुठी संस्थानले परम्पराका महन्त पुजारीहरुलाई पुजारी नियुक्ति गराइ मन्दिरको पुजाआजा रेखदेख आदि गर्ने काम महन्त पुजारीको हो तर हलेसी तुवाचुङ नगरपालिका भने मन्दिरबाट सरसफाइको नाममा होस वा सन्ध्याकालिन आरतीको माध्यमबाट होस महादेवको भेटी (शिवश्व)  राजश्वमा मिसाइरहेको छ । जुन कानुन विपरीत हुन जान्छ , राजश्व र शिवश्व लाई मिसाउन कानुनले नै निशेध गरेको छ । नगरपालिकाले अधिकार र आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेर महादेवको भेटीको बैंक खातावाल बनाई खर्च समेत गर्ने गरेको छ ।

आधिकारिकता नपाएको अवैध मन्दिर व्यवस्थापन समितिको अध्यक्ष र प्रतिनिधि हुँ भन्दै हिड्ने हर्कराज राइले मन्दिरको भेटीरआम्दानीको संयुक्त बैंक खातावाल बनी आफुखुसी खर्च गर्ने गरेका छन् । हर्कराज राइलाई मन्दिर समितिको अध्यक्ष कसले बनाएको हो अरु त परै जाओस् समिति गठन र पदाधिकारी नियुक्ति गरिदिने गुठी संस्थानलाई समेत हर्कराज राई मन्दिर समितिको अध्यक्ष हुन् भनेर थाहा छैन । मन्दिरका कर्मचारी एवम् चौकीदार गोपाल गिरीले म हलेसी महादेवको पुजारी हुँ भनी भक्तजनलाई झुक्याउदै पुजारीले पहिरिने पहेलो गेरुवस्त्र पहिरन गरी वास्तविक पुजारीको अपमान हुने र अदालतको आदेशको अवहेलना समेत गर्ने कार्य गरिरहेका छन  । जबकि उनी महन्त मनोहर गिरीका सन्तान पनि होइनन् र पुजारी पनि होइनन् ।


हलेसी महादेवको महन्त मनोहर गिरी र तिनका सन्तान दरसन्तान र शिष्य प्रशिष्यबाट उपयुक्त र हकवाला रहेसम्म श्री को महन्त पुजारी भइ पुजाआजा गर्नु गराउनुपर्ने ताम्रपत्रमा नै उल्लेख गरिएको छ । मन्दिर र मन्दिर आसपासका अन्य क्षेत्रहरू धितुङ, मंगलटार, अर्खौले लगायतका स्थानहरुमा भएको मठ मन्दिरको सम्बर्द्धन र विकासको काम गर्ने गरि विकास समिति गठन आदेश २०५३ अनुसार बनेको हलेसी महादेवस्थान विकास समितिले समेत आफ्नो कर्मचारी सर्बधन बस्नेतलाई महादेवको भेटी पैसाको बैंक खातावाल बनाइ आफुखुसी खर्च गर्ने गराउने काम गरिरहेको छ । यसरी अनाधिकृत रुपमा आफुमा हुँदै नभएको अधिकार प्रयोग गरि नगरपालिका , विकास समिती , हर्कराज राई लगायतले मन्दिरको भेटीमा हातपात गरि आफुखुसी खर्च गरिरहेको , मन्दिरका चौकिदार गोपाल गिरीले आफुमा हुँदै नभएको पद पुजारी हुँ भनी भक्तजनलाई ठग्ने गरेको विषयमा सम्बन्धित निकाय गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौं , मालपोत र सिडिओ कार्यालय खोटाङ समेतलाई मन्दिरमा भएको बेथिति र लापरबाही का बारेमा लिखित तथा मौखिक रुपमै अवगत गराउदा समेत सम्बन्धित निकाय मौन बसिरहेको छ ।


अमूक व्यक्तिहरुले मन्दिरको भेटी तथा आम्दानी हरु अपचलन गर्ने , मन्दिर व्यवस्थापनको पाटोलाई बेवास्ता गर्ने तर मन्दिरको भेटीमा चाहिँ मरिहत्ते नै गर्ने हरुको समूह बढेपछि मन्दिरमा हुने गरेका सबै खालका बेथिति हरुको अन्त्य गर्नका लागि ताम्रपत्र बाट महन्त भएका मनोहर गिरीका सन्तान (आधिकारिक गुठियार ) मध्य महन्त पुजारीहरुको पारिवारिक तर सामाजिक कार्य गर्ने उदेश्यले गठन भएको श्री राजबोल भबमाया गिरी स्मृति प्रतिष्ठान का अध्यक्ष समेत रहेका मनोज कुमार गिरीलाई श्री को पुजारी भइ मन्दिरको रेखदेख , संचालन , व्यवस्थापन लगायत मन्दिर सँग सम्बन्धित सम्पुर्ण काम कारबाही गर्न भनी पारिवारिक र संस्थागत निर्णय भएपछि गिरी अहिले महादेवको पुजारी नियुक्ति लिने प्रकृयामा छन् । त्यसो त सर्वोच्च मुद्धा का रिट निवेदक मन्दिप गिरीले समेत महादेवको पुजारी भइ काम गर्न मनोज गिरीलाई मन्जुरीनामा र वारेस दिएका छन् । मनोज गिरीका बुबा कुलदिप गिरीले समेत मालपोत कार्यालय बाट मिति २०६७/०७/१६ मा श्री को पुजारी नियुक्ति लिएको देखिन्छ । बाबु कुलदिप गिरीको देहावसान पछि गिरीका जेठा दाजु राजेश गिरीले समेत उनलाई महादेवको पुजारी नियुक्ति लिइ मन्दिरको काम कारबाही गर्न मन्जुरी दिएका छन् ।


मन्दिरमा चरम लापरबाही बढेको र पारिवारिक र संस्थागत निर्णयले मनोज गिरीलाई पुजारी भइ काम कारबाही गर्ने अभिभारा दिएपछि गिरीले महादेवको पुजारी बन्नका लागी चाहिने सम्पुर्ण कागजात , प्रमाण र आधारहरु पेस गरि गुठी संस्थानमा निवेदन पेस गरेको भएपनि गुठीले गिरीलाई पुजारी नियुक्ति गर्न आनाकानी गरेपछि गिरीले सर्वोच्च आदेशको प्रमाणित प्रतिलिपी , आधार प्रमाण र आवस्यक कागजात संलग्न राखी सम्मानित सर्वोच्च अदालतको आदेश हाल सम्म पनि कार्यान्वयन नभएकाले आदेश कार्यान्वयन गर्नका लागि श्री को पुजारी नियुक्ति गरि सो को लागि आवस्यक व्यवस्था समेत गराइ पाउ भनी श्री सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय बबरमहल काठमाडौमा निवेदन दर्ता गराएका थिए । अधिकार प्राप्त गिरीको निवेदन दर्ता भएकै दिन फैसला कार्यान्वयन शाखाले निवेदक मनोज कुमार गिरी , प्रधानमन्त्रीको कार्यालय , गृह मन्त्रालय , युवा तथा खेलकुद मन्त्रालय , पर्यटन तथा संस्कृति मन्त्रालय लाई बोधार्थ राखी विपक्षी गुठी संस्थान समेतलाई मिति २०७२/११/०२  मा भएको सर्वोच्चको आदेश हाल सम्म पनि कार्यान्वयन नभएकोले फैसला कार्यान्वयन गरि यथासिग्र जानकारी गराउनु भन्ने सम्मको परिपत्र भएको महिनौ बितिसक्दा पनि फैसला कार्यान्वयन गर्ने गराउने निकायले खासै गम्भिरतापुर्वक फैसला कार्यान्वयन गर्न अग्रसर भएको देखिदैन ।


मन्दिरमा चरम लापरबाही बढेको , भेटीघाटीमा हिनामिना भएको , महादेवको गहना अनाधिकृत रुपमा गजुरमान राइले आफुखुसी राख्ने गरेको , गोपाल गिरीले अनाधिकृत रुपमा महादेवको पुजारी हुँ भन्दै पहेलो गेरु वस्त्र पहिरन गरेको लगायत मन्दिरमा भइरहेको बेथिति र लापरबाहीका बारे गुठी संस्थान , जिल्ला प्रशासन कार्यालय खोटाङ , जिल्ला मालपोत कार्यालय खोटाङ लगायतलाई पटकपटक लिखित तथा मौखिक उजुरी गरिसकिएको भएपनी राज्यका सम्बन्धित निकाय समेत मूकदर्शक बनेर मन्दिरमा भएको लापरबाही र बेथिति सँग रमाइरहेको हुनसक्छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार