गलत सूचना उपलब्ध गराउने नगरपालिकालाई ७ दिन भित्र सूचना सच्याउन गरियो परिपत्र , गलत सूचना दिएर मन्दिरको भेटी प्रतिको मोहबाट अलग रहनै नसक्ने नगरपालिकाको नियत !

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सूचना मागकर्तालाई गलत र अपुरो सूचना उपलब्ध गराउने गरेको पाइएको छ । हलेसीपाटीका अध्यक्ष एवं पत्रकार मनोज गिरीले नगरपालिकाद्वारा हलेसी महादेव मन्दिर माथी भएको अनावश्यक हस्तक्षेप र त्यो हस्तक्षेपले निम्तिएको बेथिति र केही संकास्पद विषयमा सुचना माग गरेका थिए ।

गिरीले उक्त सुचना नेपालको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन , २०६४ बमोजिम कार्यालय प्रमुखले तोकेको सूचना अधिकारीसँग लिखित रुपमा मागेका थिए । यसरी ऐन बमोजिम माग गरिएको सूचना नगरपालिकाले तोकेको सूचना अधिकारी ले ऐनले तोकेको म्याद भित्र पनि माग गरिएको सूचना उपलब्ध नगराए पछि गिरीले कार्यालय प्रमुखलाई सूचना उपलब्ध गराउन निवेदन दिएका थिए ।

कार्यालय प्रमुखलाई दिइएको निवेदनको नवौं दिनमा नगरपालिकाले सुचना त दियो तर माग गरिएको सूचना एकातिर नगरपालिकाले दिएको सूचना अर्कोतिर भएपछि जनतासँग जोडिएको आम चासोको प्रश्न माथी नगरपालिकाले जनतालाई झुक्याउदै हलेसी महादेवको भेटीमा निरन्तर आँखा लगाइरहने र मन्दिरको भेटीलाई हत्याउने उदेश्यले जनतालाई गलत र अपुरो सूचना उपलव्ध गराएको देखिन्छ । माग गरिएको सूचना लाई नगरपालिकाले झण्डै एक महिना लगाएर दिएको सूचना गलत , अपुरो , झुक्याउने र मन्दिरमा अझैपनि चलखेललाई निरन्तरता दिने नगरको त्यो मनसाय बुझेर गिरीले मिति २०८० जेठ २६ गते नगरपालिकाका कार्यालय प्रमुखलाई सम्बोधन गरी पुन निवेदन दिएका छन।

नगरपालिकाको इमेल एड्रेसमा इमेल मार्फत पठाइएको निवेदनमा कार्यालयका कर्मचारी अधिकृत( छैठौ ) गोबिन्द खड्काबाट हस्ताक्षरित भएको चलानी नं. २७१५ मिति २०८०/ २ /२३ गतेको पत्रबाट प्राप्त भएको तर माग गरिएको सूचना गलत र अपुरो भएको भन्दै सात दिन भित्र ति गलत सूचनालाई सच्याएर माग गरिएको पुरा सूचनाहरु उपलब्ध गराउन र यदि सूचना उपलब्ध नगराए आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाइने व्यहोरा उल्लेख छ । इमेल मार्फत पठाइएको उक्त निवेदनका साथ नगरपालिकाले उपलब्ध गराएको सूचनाको प्रतिलिपी , नगरले उपलव्ध गराएको गलत र अपुरो भनी सूचना मागकर्ताको लिखित स्पष्टीकरण समेत संलग्न राखी पठाइएको छ ।

हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको बैंक खातामा समेत नगरपालिकाले नियुक्ति गरेको कर्मचारीलाई नगरपालिकाले मन्दिरको बैंक खातामा समेत खातावाल बनाएको छ । गिरीले नगरपालिका लाई हालसम्म मन्दिरको एकमुष्ट रकम के कति भएको हो सो को बारेमा सूचना जानकारी मागेका थिए । त्यस्तै हलेसी मन्दिरमा नगरपालिकाले अनावश्यक हस्तक्षेप बढाइ मन्दिरको आम्दानीहरु नगरपालिकाले विभिन्न शिर्षकबाट सरसफाइ शुल्कको नाममा उठाएर नगरपालिकाको आफ्नो बैंक खातामा जम्मा गरी आफुखुसी खर्च गर्ने भनिएको वा गरेको निर्णयको प्रतिलिपी उपलब्ध गराउन माग गरिए पनि नगरपालिकाले उक्त सूचना जानकारी उपलब्ध गराएको छैन ।

नगरपालिकासँग माग गरिएको सूचना भन्दा फरक तरिकाले सत्य तथ्यमा आधारित नभई जनतालाई भुलाउने र झुलाउने खालको गलत सूचना नगरले दिएको छ । सूचना मागकर्ता मनोज गिरीलाई झण्डै एक महिना लगाएर नगरले उपलब्ध गराएको बुदा नम्बर एकमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ को २ ख बमोजिम गुठी संस्थानको मातहतमा रहेको हलेसी महादेव मन्दिरबाट विभिन्न शीर्षकबाट राजश्व उठाएर लिएर जाने व्यवस्था नभएको भएपनि जनतालाई झुक्याउन उक्त दफालाई कोट गरेर नगरले अझै पनि मन्दिरको भेटीमा आँखा लगाएर भेटी हत्याउने मनसाय रहिरहेको बुझ्न सकिन्छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ६२ को २ मा पालिकाले निर्माण , संचालन वा व्यवस्थापन गरेको स्थानिय पूर्वाधार वा उपलब्ध गराएको देहायका कुनै सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई सेवा शुल्क लगाउन सक्नेछ :- ( क ) खानेपानी ,बिजुली , धारा , अतिथि गृह , धर्मशाला, पुस्तकालय , सभागृह र त्यस्तै अन्य सेवा सुविधा , ( ख ) फोहोरमैला व्यवस्थापन , सरसफाइ , ढल निकास , सडक बत्ति जस्ता सेवा सुविधा । यसैगरी बुँदा नम्बर ३ मा हालसम्म आरती कुम्भु (बत्ती घर) डोरामाला लगायतबाट उठेको रकम कति छ ? त्यसको एकमुष्ट रकमको सम्पूर्ण विवरण माग गरिएको भएपनि नगरपालिकाले तथ्यहिन रु १७,७८,९००/ मात्र जम्मा भएको भनी बैंक स्टेटमेन्ट बिना कागजमा रकम उल्लेख गरेर सूचना मागकर्तालाई झुक्याउन खोजेको देखिन्छ ।

प्रमाण जनिने बैंक स्टेटमेन्ट दिइएको छैन , जबकि गिरीले एकमुष्ट विवरण मागेका थिए । त्यसो त हलेसी मन्दिरमा दैनिक सन्ध्याकालिन आरती लगाइरहेका पण्डित विदुर दाहाल अघिल्लो नगर प्रमुख इबन राइकै पालामा झण्डै ३० लाखको हाराहारीमा रकम उठेको दाबी बताउछन् तर नगरपालिकाले हाल सम्म १७,७८,९००/ रुपैयाँ मात्रै आफ्नो खातामा रहेको सूचना जानकारी दिएको छ । बुदा नं. ४ मा , महादेव मन्दिरबाट नगरपालिकाले विभिन्न शीर्षकमा हलेसी महादेव मन्दिरमा सरसफाइ शुल्कको नाममा उठाइएको भेटी हालसम्म के के काममा कुनकुन शीर्षकमा खर्च भयो भनेर सूचना माग गरिएको भएपनि नगरपालिकाले उक्त सूचना गैह्रजिम्मेवार ढंगबाट दिएको छ ।

कुनकुन शिर्षकमा के के मा कति खर्च भएको हो भनेर सूचना माग गरेको भएपनि नगरपालिकाले शिर्षक , बजेट , योजना र खर्चको लिखित कागजात उपलब्ध नगराएर नगरपालिकाले नगरसभा बाट सार्वजनिक गर्ने गरेको भन्दै फितलो र जनताको आँखामा छारो हाल्ने तरिकाले जवाफ दिएको छ , जबकि नगरपालिका सँग नगर सभा मार्फत सार्वजनिक गर्ने गरेको छ कि छैन भनेर सोधिएको थिएन । यहाँ त प्रमाण जनिने सम्पुर्ण खर्च विवरणको लिखित कागजात माग गरिएको थियो । यसैगरी नगरपालिकाले उपलव्ध गराएको बुदा नं. ५ मा नगरपालिकाले जुन शिर्षकमा राजश्व उठाएको हो त्यही शिर्षकमा खर्च गर्नुपर्ने भन्ने कानुनी प्रावधान नरहेको भनेर सिधै झुक्याउने काम गरिरहेको छ । हलेसी महादेव मन्दिर सरसफाइ शुल्क भन्दै मन्दिरको भेटी लिएर जाने तर खर्च मन्दिरको हितमा नगरेर अन्यत्र खर्च गर्नुले आर्थिक रुपमा कमजोर बिरामीले उपचारको नाममा उठाएको चन्दा सहयोग पैसाले जाँड खाएर रकमको दुरुपयोग गरेको जस्तो भएन र ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार