हलेसी तुवाचुङ नगरपालिकाको बेथितिले सेवाग्राहीलाई शास्ती, फाँटमा कर्मचारी नै भेटिदैनन !

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा मन लाग्दी र पावरको धमास चलेको पाइएको छ । नगरपालिकामा पर्याप्त कर्मचारी भएपनि सेवाग्राहीलाई सेवा दिने बेलामा शाखाहरुमा जिम्मेवार कर्मचारी नै भेटिदैनन । जसका कारण सेवाग्राहीले समयमा सेवा लिन सकिरहेका छैनन । विना जानकारी कर्मचारी अनुपस्थित हुँदा पनि प्रशासन प्रमुख तथा नगरपालिका प्रमुख तैचुप र मैचुप झै बनेका छन ।
सेवाग्राहीको ब्यापक गुनासो आएपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले नगरपालिकामा छड्के अनुगमन गर्न जाँदा करिब साढे दश बज्दा पनि कार्यलयको अधिकांश शाखा हरु कर्मचारी बिहिन अवस्थामा थियो । कार्यालय प्रमुखको कार्यकक्ष ताला लगाइएको अवस्थामा पाइयो । कार्यलयका फाँटहरुमा पनि सबै कर्मचारी आएका थिएनन । छिटपुट कर्मचारी भेटिएका थिए ।
हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले पालिकामा बेतिथि देखेपछि आफनो फेसबुकबाटै गतिविधिको लाइभ गरेका थिए । उक्त देखेपछि नगरपालिकाका कर्मचारीहरु हस्याफस्याङ गर्दै विना पोशाक कार्यालयमा आइपुगेका थिए । गिरीले किन ढिला भनेर प्रश्न गर्दा कर्मचारीले फिल्डमा गएर आएको भन्ने बनावटी जवाफ दिए भने कसैले बैँकमा काम थियो भनेर बहानाबाजी बनाउन समेत भ्याए । पोशाक भत्ता असुलेर बिना पोशाक कार्यलयमा आउने कर्मचारीलाई पालिका प्रमुख तथा प्रशासन प्रमुखले कुनै पनि प्रश्न गर्न सकेको देखिएन । जसका कारण कर्मचारीसंग नै प्रशासन प्रमुख र नगर प्रमुख डराएका हुन या लापरबाही गरेका हुन त्यो उनीहरुकै कुरा हो । कर्मचारीलाई सिष्टममा ल्याउन नसक्नु प्रशासन प्रमुख र नगर प्रमुखको प्रशासन सञ्चालन गर्ने क्षमतामा कमि भएको बुझ्न सकिन्छ ।
कार्यालयको लेखा शाखा १० बजेर ३२ मिनेट जाँदामात्र खोलिएको थियो । त्यसो त नगर प्रमुख विमला राइ र उपप्रमुख रमेश राउतको कार्यकक्ष नै खालि थियो । नगर विकास तथा शुसासनका लागि जिम्मेवार ब्यक्तिहरुको महत्वपूर्ण भुमिका रहन्छ तर हलेसी तुवाचुङ नगरपालिकामा भने जिम्मेवार ब्यक्ति नै काम चोर भएपछि कर्मचारीको के विश्वास होला ? नेतृत्वले नै लापरवाही गरिदिदा उसको माताहत चल्ने शाखा तथा शाखाका कर्मचारीले कसरी पारदर्शी काम गर्लान र ?
अर्कातिर नगरको सुशासन र विकासलाई चुस्त बनाउनुको साटो विभिन्न उदघाटन तथा समापनमा सहभागी हुन नगर प्रमुख हरुलाई भ्याइनभ्याइ छ । यता प्रशासनको काम लाई लथालिङ्ग र भताभुङ अवस्थामा छोडेर उद्घाटन र समापनमा जानु कत्तिको उपयुक्त होला रु जनताको कामलाई वाधा हुने गरी प्रशासनको काम बाहेक अन्य काममा जाने वा समयमा नआउने कर्मचारीलाई कसले कारबाही गर्ने ? कर्मचारी कर्मचारी मिलेर नगरमा राम्रो मिलेमतो हुने गरेको यो ब्यबहारले प्रष्टाइ रहेको छ । त्यसो त जनताका आखामा छारो हाल्न मात्र पद देखाउने तर कालेकाले मिलेर खाउ भाले भने जस्तो ब्यवहार हलेसी तुवाचुङ नगरपालिकामा देखिएको छ । जसका कारण नगरबासीको टिकाटिप्पणीका पात्र बनेका छन कर्मचारी र नगर प्रमुख यतिबेला । पाँच बर्ष उप प्रमुखको रुपमा काम गरिसकेर नगरको नेतृत्व लिएको बर्षदिन भइसक्दा पनि नगरवासीको आशा र अपेक्षा अनुरुप काम गर्न नसकेको नगरवासीको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार