अख्तियारमा उजुरी परे सँगै आयोजना समयमै सम्पन्न गराउन सरोकारवाला हरुले देखाए चासो , समयमै आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनी प्रतिवद्ध

खोटाङ / सुख्खा ग्रस्त क्षेत्र घोषित खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको हलेसी क्षेत्रमा खानेपानीको व्यवस्था गर्न बनाइएको योजना सयममा सम्पन्न हुन नसक्दा ब्यापक जनगुनासो बढेको छ । दुधकोसीको पानी गाउँमा निकाल्नका लागि सुरु गरिएको रु एक अर्व भन्दा माथीको आयोजनाको काम पटक पटक म्याद थप गरिरहँदा पनि समयमा काम सम्पन्न नभएपछि हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी आयोजनाका ठेकेदारलाई नगरपालिकाले तोकिएको म्यादभित्र काम सम्पन्न गर्न भनेको छ ।


ठेकेदार कम्पनी हरुको अन्तिम म्याद यही चैत्र मसान्त सम्म रहेको छ । निर्माण कम्पनीले कामदारको पैसा समेत नदिएको कामदार हरुको गुनासो छ । आयोजना निर्माणका लागि भन्दै उपभोक्ता समितिले प्रत्येक घरधुरीबाट रु २५ सयका दरले पैसा उठाएको थियो । राष्ट्रिय आयोजना तर उपभोक्ताबाट पैसा उठाएर पनि समयमा काम नगर्दा आर्थिक पारदर्शीताको प्रश्न उठन थालेपछि कतिपय उपभोक्तालाई पैसा फिर्ता गरिएको र त्यसमध्ये राष्ट्रिय वाणिज्य बाणिज्य बैँकमा ८ लाख ४८ हजार र साल्पा विकास बैंकको खातामा रु १५ लाख गरी रु २३ लाख बैंक मौज्दात रहेको उपभोक्ता समितिका उपाध्यक्ष डिल्ली चाम्लिङ राइले बताए ।

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडामा बनेको ट्यांकीमा निकाल्ने गरी मेनलाईनको ठेक्का लिएको दिवा–महादेव खिम्तीलाई १७ मंसिरको मितिबाट १६ माघ सम्ममा काम सम्पन्न गर्न नगरपालिकाको निर्णय पुस्तिकामा नगरपालिकाले हस्ताक्षर गराएको छ । दिवा–महादेव खिम्तीका प्रोजेक्ट मेनेजर प्रतिक पौडेलले दुई महिनाभित्र दुधकोसीको पानी भुम्जु डाँडामा र चैत्र मसान्त भित्र हतुनपा ७ को काभ्रेडाँडामा निकाल्ने प्रतिवद्धता सहित निर्णयमा हस्ताक्षर गरेका छन् । आयोजनाले सुख्खा ग्रस्त हलेसी तुवाचुङ नगरपालिकाका ७ वटा वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई दुधकोसीबाट पानी लिफ्ट गरेर बितरण गर्ने लक्ष्य राखिएको छ ।

यस अघि पनि यो आयोजना समयमा सम्पन्न नभएको , काममा चरम लापरबाही र आर्थिक मामिलामा समेत पारदर्शिता नभएको भन्दै २०७८ चैत्र २७ गते हलेसीपाटी डटकमका अध्यक्ष तथा पत्रकार मनोज गिरीले उपभोक्ता समितिका अध्यक्ष इबन राई विरुद्ध अख्तियारमा उजुरी दिएका थिए । अख्तियारमा उजुरी परेपछि अख्तियारले संघीय खानेपानी बिभागलाई आवश्यक कारबाही गर्नको लागि चिठी लेखेको थियो । अख्तियारमा उजुरी परेपछि अनि सम्बन्धित उपभोक्ताहरुले आयोजनाको काम र पारदर्शिता माथि व्यापक गुनासो गरेपछि र चार चार पटक म्याद थप हुँदा पनि खानेपानी आयोजनाको काम पुरा नभएपछि नगरपालिकाले जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको प्रमुख , उपभोक्ता समिति लगायतको उपस्थितिमा ठेकेदारलाई बोलाएर थपिएको म्याद भित्र काम पुरा गर्न दबाब दिएको हो ।


यस्तै हतुनपा ७ को काभ्रे डाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई पनि थपिएको म्याद भित्र आफ्नो काम सम्पन्न गर्न भनिएको छ ।
सोही आयोजना अन्तर्गत भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लिएको लामा कन्ट्रक्सन लाई पनि समय भित्रै आफ्नो जिम्माको काम पुरा गर्न प्रतिवद्धता–पत्रमा हस्ताक्षर गराएको छ ।
आयोजनाको ठेकेदार तथा ‘निर्माण व्यवसायीले हरेक महिनाको कामको भौतिक तथा वित्तीय प्रगती विवरण नगरपालिकामा पेश गर्नु पर्ने गरी सहमती गराइएको छ । तोकिएको समयमा तोकिएको काम पुरा नभए निर्माण व्यवसायीहरु माथि कारबाही (पेनाल्टी) अगाडि बढाउने संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङ र नगरपालिकाले जनाएको छ ।
२०७६ साल पुस १७ गतेसम्ममा ३१ करोड ७५ लाख ९६ हजार कर रमक सहित काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो । त्यस्तै २०७७ साल असार ३० गतेसम्ममा काम सक्ने गरी २०७५ साल असार ३१ गते वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरण लाईनको ठेक्का लिएको हो ।
निर्माण कम्पनीहरुको अहिलेसम्मको कार्य प्रगति यस्तो रहेको छ ।
रमन सगरमाथा–सगरमाथा घिमिरेले ७०।५ प्रतिशत र लामा कन्ट्रक्सनले ७६।५ प्रतिशत काम सम्पन्न गरेको जानकारी संघिय खानेपानी आयोजना खोटाङले जनाएको छ । महादेवबेँसी र काभ्रे डाँडाको बिचमा चार लाख लिटरको तीन वटा, तीन लाख लिटरको एउटा र एक लाख लिटरको पाँच वटा ट्यांकी बनिसकेको छ । कदुवा र भुम्जुडाँडाको बिचमा पनि सोही प्रकृतिको ट्यांकी बनिसकेको छ । तोकिएको समय भित्र काम सम्पन्न हुने कुरामा भने उपभोक्ता समिति आफै विश्वस्त नभएको समितिले जनाएको छ भने समय भित्रै काम सम्पन्न गराउन संघिय खानेपानी आयोजना खोटाङ र नगरपालिका ले खबरदारी र कारबाही गर्न समेत पछि नहट्ने जनाएको छ । अख्तियार मा उजुरी गर्ने हलेसीपाटीका अध्यक्षरपत्रकार मनोज गिरीले अख्तियार र खानेपानी बिभागलाई पटक पटक खबरदारी गरिरहेको र आयोजना सम्पन्न नहुँदा सम्म घच्घचाइ रहने जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार