प्रशासनको परिपत्र वेवास्ता गरेपछि रोक्का जग्गा फुकुवा गर्न पूर्णमाग, एक साता भित्र फुकुवा गर्नुपर्ने (भिडियो सहित)

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको सिफारिसमा र जिल्ला प्रशासन कार्यालय को पत्र अनुसार मालपोत कार्यालय खोटाङ्ले रोक्का गरेको जग्गा फुकुवाका लागि जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन परेको छ ।

हलेसी गुरु योजना मुल समितिको २०७६ माघ ११ र १२ गते बसेको बैठकले मन्दिरको २६ रोपनी जग्गाको सिमानालाई आधार मानेर २०० मिटर वरिपरिको जग्गाहरु प्राप्ती गर्ने र सो क्षेत्रका घर टहराहरु खाली गरि सम्मान जनक मुअब्जा वितरण गर्ने भने पनि ४र५ बर्ष वितिसक्दा पनि रोक्का गरिएको जग्गाका धनीले न मुअब्जा नै पाए न आफनो जग्गा नै बिक्रीवितरण गर्न पाए । ४ र ५ बर्षसम्म पनि आफनो जग्गा उपभोग गर्न नपाएपछि २०७८ फागुन ४ गते आफनो जग्गा फुक्का गर्न जिल्ला प्रशासन कार्यालयमा हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीको अगुवाइमा ७८ जनाको सामुहिक हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालय खोटाङमा रोक्का जग्गा १५ दिन भित्र फुकुवा गर्न निवेदन दर्ता गराएका थिए ।
पीडितहरुको माग र गुनासोलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले मिति २०७८ फागुन १६ गते नगरपालिकालाई पत्र काटेका थिए ।

सहायक प्रजिअ श्रेष्ठले पत्र मार्फत नगरपालिकाले मुअब्जा नदिई मालपोतमा जग्गा रोक्का गरिएकोले सो जग्गाहरु फुकुवा गर्ने व्यहोराको माग गरिए बमोजिम जग्गा रोक्का गरिनुको कारण सहित सुझाव पठाउन पत्रमा भनेका थिए तर नगरपालिकाका तत्कालीन नगर प्रमुख इबन राइले जिल्ला प्रशासन कार्यालयको पत्रको कुनै पनि सुनुवाइ नगरी जिल्ला प्रशासन को पत्रको कुनै जवाफ नै नपठाएको कारण हालसम्म पनि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छैन। नेपालको संविधानले व्यक्तिको निजी सम्पत्तिको रक्षा र हकभोग गर्न पाउने गरेको व्यवस्थालाई लत्याउदै हलेसी तुवाचुङ नगरपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालय खोटाङले व्यक्ति हरुको निजी जग्गाहरु लाई गुरुयोजनाको नाममा रोक्का राखेको हो ।

राय पेश गर्न प्रशासन बाट पत्र पाएको ४ महिना वितिसक्दा पनि नगरपालिकाले रोक्का जग्गा फुकुवाका लागि कुनै पत्र नलेखेपछी हलेसीपाटीका अध्यक्ष मनोज तथा पत्रकार मनोज गिरीले पुनः प्रमुख जिल्ला अधिकारी समक्ष जग्गा रोक्का फुकुवा गर्नका लागि निवेदन दर्ता गराएका छन । पीडितहरुको तर्पबाट गिरीले सात दिनभित्र रोक्का जग्गा फुकुवा गर्नु पर्ने माग सहित निवेदन दर्ता गराएका हुन । निवेदनको कुनै सुनुवाइ नभए जग्गा रोक्का गर्ने ३ वटै निकायको विरुद्ध हलेसीपाटीले क्षतिपूर्ति माग सहित कानुनी प्रक्रियामा छिर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार