हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजनाको ढिलासुस्ती र अनियमितता विरुद्ध अख्तियारमा परेको उजुरीको कारबाही प्रक्रिया सुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना विरुद्ध अख्तियारमा परेको उजुरीको कारबाही प्रक्रिया सुरु भएको छ । अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभागलाई कारबाही अघि बढाउन निर्देशन दिएको छ । हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना ६ बर्ष वितिसक्दा पनि कुनै काम नभएको भन्दै हलेसीपाटीका अध्यक्ष मनोज गिरीले अख्तियारमा उजुरी दिएका थिए ।


गिरीले दिएको उजुरीका आधारमा छानवीन गरी आवश्यक कारबाही गर्न विभागलाई निर्देशन दिएको अख्तियार श्रोतले जनाएको छ । अख्तियारको निर्देशन अनुसार विभागले हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना सम्पन्न गर्नका लागि बनाइएको उपभोक्ता समितिलाई के कति कारणले आयोजना सम्पन्न नभएको भनी जानकारी गराउन भने पनि उपभोक्ता समितिले स्पष्टिकरण दिन आनाकानी गरेको विभागका योजना प्रमुख लक्ष्मी प्रसाद उपाध्याय ले हलेसीपाटीलाई बताए ।


हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हलेसी तुवाचुङ नगरपालिकाका निर्वतमान मेयर इबन राई आफै थिए र हाल पनि उनै छन । आफै मेयर आफै उपभोक्ता समितिका अध्यक्ष भएर ६ बर्ष वितिसक्दा पनि उक्त आयोजना सम्पन्न गर्न सकेका छैनन । आयोजना सम्पन्न हुनुको साटो लथालिङ भएको र हलेसीवासीले ६ बर्षसम्म पनि पानी पिउन नपाएपछि उपभोक्ता समितिका अध्यक्ष समेत रहेका मेयर इवन राइ विरुद्ध मिति २०७८/१२/२८ मा अख्तियारमा उजुरी परेको थियो ।


यस अघि निवर्तमान मेयर राइले उपभोक्ता समितिको अध्यक्ष आफै र बैंकको खातामा आफ्नै हस्ताक्षर चल्ने गरी निर्णय गरेका भएपनि अख्तियार मा उजुरी परेपछि उक्त बैंकको हस्ताक्षर आफु बाहेक अरूको नाममा सार्न लागेको हलेसी पार्टीलाई सूचना प्राप्त भएको छ । निजले प्रत्येक उपभोक्ता हरुबाट रु २५ सयका दरले पैसा उठाएको तर ६ वर्ष बितिसक्दा पनि उक्त योजना लथालिङ्ग पारी हलेसीवासीलाई पानी नखुवाएको स्थानीयको आरोप छ जुन सत्य पनि हो।

टोलटोलमा पिउने पानी आउला र खान पाइएला सुविधा होला भनी राहत पाउने आशामा बसेका हलेसीवासी लाई राहत होइन आहत बनेको छ । यो अवधिमा खानेपानी लिन जानका लागि मान्छे बाटोमा लडेर कति मरे तर योजना का अध्यक्ष इवन राईले यो कुरा थाहा हुदाँहुदै पनि कहिल्यै गम्भिरतापुर्वक लिन सकेनन । जनताका रक्षक नै भक्षक बनेपछि मेयर राइ प्रति स्थानीय हरु आक्रोसित बनेका छन । खानेपानी को विषयमा बिभागको २०७९/१/१९ मा बसेको बैठकले यथासक्य चाडो काम सम्पन्न गर्ने निर्णय गरेको छ भने यसमा के कसो भएको भनी हलेसिपाटीले योजना प्रमुख लक्ष्मी प्रसाद उपाध्याय लाई बुझ्दा जवाफमा उनले पुर्व नगर प्रमुख इवन राइको असहयोगका कारण काममा चरम लापरबाही र ढिलासुस्ती भएको र अब बिभाग आफै त्यस क्षेत्रमा गएर फिल्ड भिजिट गर्ने र त्यसका लागि हलेसीपाटीले सहयोग गर्नुपर्ने प्रस्ताव अघि सारेका छन। यसैगरी संघीय खानेपानी तथा ढल व्यवस्था कार्यालयका प्रमुख हिराकाजी महर्जनले पनि चाडै योजना सम्पन्न गर्न आफुले सकेसम्म मेहनत गरिरहेको कुरा बताएका छन । मानव जीवन सँग प्रत्यक्ष सरोकार राख्ने अति आवस्यक खानेपानीको काममा ढिलासुस्ती र लापरबाही गर्नु लाई पनि एउटा जघन्य अपराध को रुपमा लिन सकिन्छ । चाडो भन्दा चाडो योजना सम्पन्न गरी उपभोक्ता हरुलाई खानेपानी खुवाउनको लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । खानेपानीको काम चाडो सम्पन्न गराउनका लागि सम्बन्धित निकायहरु लाई हलेसीपाटीले निरन्तर खवरदारी गरिरहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार