कांग्रेस र एमालेबीचको वार्ता बिना निष्कर्ष टुंगियो

एमसीसी अनुमोदनमा एमालेको दुईटा शर्त

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई टुंगोमा पुर्‍याउन बोलाइएको प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको दुबै दलको बैठकमा नेताहरुले आ(आफ्नै अडान दोहोर्‍याए । दुबै दलका नेताहरू आ(आफ्नै अडानमा रहेकाले कुनै ठोस निर्णय नभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

पोखरेलले एमसिसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने एमालेले कुरा राखेको बताए। उनले भने, ‘जबसम्म सरकार र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ हुँदैन भनेर हामीले कुरा राखेका छौं।’

एमालेले कांग्रेससँग संसदमा आफूहरू उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको जवाफ दिएको छ।

यस्तै बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए। प्रतिनिधिसभालाई सञ्चालन गरेर एमसिसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने कांग्रेसको प्रस्ताव एमालेले स्वीकार नगरेको कार्कीले जानकारी दिए।

शनिबारको छलफलमा कांग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार