
काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार पनि बस्दै छ । अन्तिम अवस्थामा परिस्थिति बदलिएन भने शुक्रबार संसद बैठक बस्नुअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिपत्रमा हस्ताक्षर हुने र सत्ता गठबन्धन भत्किने भएको छ ।
केही दिनयता भएका लगातारका बैठकपछि कांग्रेस–एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर अमेरिकी परियोजना एमसीसी संसदबाट पास गर्ने गरी नयाँ समिकरण बनाउन लागेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तीन वटा मुख्य एजेण्डामा सहमति नजिक पुगेका केही उच्च नेताहरूले बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वर र साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।
दुवै पक्ष आफ्ना अडानमै रहेकाले सहमतिमा नपुगेको भन्दै नेताहरू बालुवाटार बैठकबाट बाहिरिए पनि अहिलेको सत्ता गठबन्धन तोड्ने, सभामुखमाथि महाअभियोग लगाउने र एमसीसी पास गर्ने मुख्य बुँदामा दुई प्रमुख दल सहमति नजिक पुगेको कांग्रेसका एक नेताले बताए।
संभवतः शुक्रबार संसद बैठकअघि नै सहमतिको एउटा खाका आउने र नभए पनि आइतबारसम्म त टुंग्याउनै पर्ने हुती नेताले बताए ।
तर सहमतिको यस्तो खाकामा एमाले र कांग्रेस दुवै पार्टीका नेताहरू विश्वस्त भैसकेका छैनन्। त्यसैले आआफ्नो पक्षको अन्तिम रणनीति तय गर्न बिहीबार राति अबेरसम्म पनि बालुवाटारमा कांग्रेस र बालकोटमा एमालेका नेताहरू बसेका थिए ।
तर कांग्रेससँग सहमति उन्मुख भएजस्तो देखिएपनि गठबन्धन कायम रहेको र मन्त्रीहरू गाडीमा झण्डा हल्लाउँदै हिंडिरहेसम्म विश्वस्त हुन नसकिने बालुवाटारबाट निस्केपछि एमालेका नेताहरूले प्रतिक्रिया दिएका छन्। देउवा र ओलीबीच पटक पटक छुट्टै छलफल भएकाले सामुहिक वार्तामा सहभागी नेताहरू यकिनसाथ भन्न सक्ने अवस्थामा देखिँदैनन्।
एमालेका नेताहरूकै कुरासँग मिल्ने गरी कांग्रेसका नेताहरूले पनि समझदारी बनिनसकेको बताएका छन्। साँझको बैठकपछि पनि अहिलेको गठबन्धन कायम रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
उनले बैठकपछि कांग्रेसले संसद खुलाउन र मिलेर एमसीसी पास गर्न आग्रह गरेको र एमालेले माधव नेपालसहितका १४ जना सांसद वा सभामुख हटाउन र गठबन्धन तोड्न माग गरेको प्रतिक्रिया दिएका छन्।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्कीको ब्रिफिङ नै सही रहेको बताए। कार्कीले बिहीबार साँझसम्म गठबन्धन नटुटेको बताएपनि शुक्रबार नै टुट्नसक्ने अवस्था पनि छ। किनभने एमालेले पहिला गठबन्धन टुटेको हेर्न चाहेको संकेत कांग्रेसलाई गरेको छ।
एमसीसी संसदमा टेबल गर्ने क्रममै गठबन्धनका खासगरी कांग्रेस र माओवादी–एकीकृत समाजवादीबीच चलेको रस्साकस्सी बिहीबार संसद बैठकमा छलफलमा लैजान नै माओवादी–समाजवादी पक्षले अस्वीकार गर्न खोजेपछि निर्णायक बनेको हो।त्यसलगत्तै संसद बैठक रोकेर प्रधानमन्त्री देउवाले ओलीसँग संसद भवनमै छलफल गरेका हुन्।