हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन

राष्ट्रिय समाचार समिति

खोटाङ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो ।

पर्यटन मन्त्रालयमार्फत प्रदेश नम्बर १ सरकारले विनियोजन गरेको ३० लाख बजेटबाट निर्माण सुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ तथा बाहिरी भागमा बगैंचासमेत रहने पदमार्गको १०० मिटर लम्बाइ र पाँच मिटर चौडाइ निर्माण सुरु गरिएको हो ।
निर्माण सम्पन्न नहुँदै भासिएको पदमार्गमा उपभोक्ता समितिले टाल्ने काममात्र गर्न लागेको स्थानीयले आरोप लगाएका छन् । ‘निर्माण उपभोक्ता समितिका पदाधिकारीले कमाइखाने योजनासाथ गुणस्तरहीन काम गर्दा यस्तो भएको हो,’ नाम नभन्ने सर्तमा एक स्थानीयले भने, ‘यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ । तत्काल सुधार नगरिए कमजोर संरचना निर्माण हुन्छ ।’
उपभोक्ता समितिले पदमार्ग निर्माणका लागि जमिन सम्याउँदा निस्किएको ‘फिलिङ’ माटोमाथि पर्खाल लगाएर ढलान गरेकाले सम्पन्न नहुँदै भासिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । ‘हलेसीलाई कसैले कमाइखाने ठाउँ बनाउनुहुन्न,’ उनले भने, ‘भासिएको ढलान पूरै उप्काएर पुनः नयाँ ढलान गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छु ।’
निर्माणको काम अन्तिम चरणमा पुगेको पदमार्गको पूरै भाग भासिएपछि उपभोक्ता समितिको चर्को आलोचना हुन थालेको छ । मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको पदमार्ग हटाएर पुनःनिर्माण सुरु गरिएको पदमार्गको बाहिरी भागमा विभिन्न प्रजातिका फूलको बगैंचा बनाउने योजना छ ।
निर्माणाधीन पदमार्ग लगातारको वर्षाका कारण आएको बाढी पसेपछि भासिएको उपभोक्ता समिति अध्यक्ष देवराज राईले बताए । ‘हामीले गुणस्तरीय काम गरेका छौं,’ उनले भने, ‘लगातारको भारी वर्षाका कारण ढलान गरिएको भाग भासिएको छ । उक्त ठाउँमा पुनः निर्माण गर्ने तयारी गरिएको छ ।’

गत असारभित्रै सम्पन्न गर्नुपर्ने उक्त योजनाको काम अहिलेसम्म पनि सम्पन्न नहुँदा हलेसी आउने भक्तजन तथा पर्यटकलाई समस्या भएको छ । निर्माणाधीन पदमार्गभरि निर्माण सामग्री थुपारिएकाले मन्दिर परिक्रमा गर्ने भक्तजनलाई समस्या भएको हो ।
बाह्रै महिना दर्शनार्थी तथा पर्यटकको भीड लाग्ने हलेसीमा साउन लागेसँगै ‘बोलबम’ मेला सुरु भएको छ । महिना दिनसम्म लाग्ने बोलबम मेलामा विशेषगरी हिन्दु धर्मावलम्बीको भीड लाग्ने गर्छ । बोलबममा मेला भर्न आउने भक्तजन खाली खुट्टा हिँडेर मन्दिर परिक्रमा गर्ने हुँदा समस्या हुने भएको स्थानीयले बताएका छन् । यसपटक गत वर्षको तुलनामा भक्तजनको भीड नरहेको महन्त गोपाल गिरीले बताए ।
लामो समयको खडेरीपश्चात् परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडकमा क्षति पुगेपछि यस वर्ष दर्शनार्थी घटेको जनाइएको छ । अवरुद्ध सडक केही दिन अघिदेखि मात्र पुनः सञ्चालनमा आएकाले गत सोमबारदेखि हलेसीमा भक्तजनको भीड लाग्ने थालेको छ ।
अवरुद्ध सडक पुनः सञ्चालनमा आए पनि अहिले हलेसी आउने भक्तजन तथा पर्यटकको संख्या न्यून रहेको होटल व्यवसायीको भनाइ छ । बोलबम मेलाका लागि तयारी गरिएको होटल अहिले खाली छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार