प्रतिबद्ध पत्रकारिता

 

प्रिय पाठक वृन्द,

प्रत्येक नागरिकले सूचनाको जानकारी लिन पाउने व्यवस्था संविधानमै उल्लेख छ । समाजमा हुने हरेक गतिविधिबारे जानकारी राख्नैपर्छ । मुलुकमा चरम भ्रष्टाचार, घुसखोरी, कालोबजारी र अनियमितता बढेको छ । मुलुकमा तीन तहको सरकार छ । तीनै सरकारको दूरदर्शिता, स्वच्छ छवि र दूरगामी सोच नभएकै कारण समाज दिनदिनै पिछडिनुपरेको छ । उनीहरूले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको हितका लागि कहिल्यै सोचेनन् । यी र यस्तै विविध कारण समाजको विकास हुन सकेन । मुलुक र समाजलाई परिवर्तन गर्न, विकसित र सभ्य समाज निर्माण गर्न हामी इमानदार, सचेत नागरिकले आ–आफ्नो ठाउँमा उभिएर बेथितिबारे खबरदारी गर्न जरुरी छ।

समाजमा हुने अनेकौं बेथितिबारे बुलन्द आवाज उठाउने, खबरदारी गरिरहने र वास्तविक तथ्यसँग आधारित रहेर प्रत्येक नागरिकलाई सूचना प्रवाह गर्ने अभिप्रायसहित हामीले तपाईंमाझ हलेसीपाटी डटकम नामक अनलाइन मिडिया सञ्चालनमा ल्याएका छौं । समाजमा हुने हरेक गतिविधिबारे हामी तपाईंलाई सूचना दिन्छौं । हामी उल्टोलाई सुल्टो र सुल्टोलाई उल्टो बनाएर समाचार सम्प्रेषण गर्दैनौं । वास्तविकता जे हो त्यही लेख्छौं । हामी राजनीतिक नेता र जनप्रतिनिधिले रिबन काटेको, शिलान्यास गरेको विषयलाई खासै महत्व दिँदैनौ बरु शिलान्यास गरेको योजना प्रभावकारी भयो कि भएन छड्के हान्छौं । अनियमितता भए सार्वजनिक गर्छौं । हामी नेता वा जनप्रतिनिधिले भाषणमा गरेका ठुल्ठूला कुरालाई प्राथमिकता दिँदैनौ बरु उनीहरूले बोलेको कुरा व्यवहारमा लागू भए–भएनन् भनेर वाचडगको काम गर्छौं। स्वच्छ र निष्पक्ष पत्रकारिता हाम्रो धर्म हो । यही मान्यताअनुसार हामी अघि बढ्छौं । स्वतन्त्र ढंगले काम गर्छौं । कुनै राजनीतिक दल वा समूहसँग आस्था राखेर काम गर्दैनौ । हाम्रा लागि सबै दल, समूह समान हुनेछन् । राम्रो काम गर्ने जुनसुकै दल वा समूहसँग हामी सहकार्य गर्छौं । तर, अनियमिततामा हाम्रो संलग्नता र सम्झौता हुँदैन ।

गुणका आधारमा समर्थन र दोषका आधारमा विरोध नै हाम्रो ‘लाइन’ हुनेछ । चाहे जोसुकै होस्, पक्षपात नगरी विनाहिच्किचाहट बेथितिबारे समाचार सम्प्रेषण गर्छौं। बेथितिबारे समाचार सम्प्रेषण गरिरहँदा कुन समूह वा वर्ग हामीसँग आक्रोश हुन्छ या खुसी हुन्छ, चासो र सरोकारको विषय बन्दैन बरु वास्तविकतालाई हामीले उठान गर्न सकियो कि सकिएन त्यो नै चासो र चिन्ताको विषय बन्नेछ । हामी हचुवाका भरमा समाचार लेख्दैनौ । स्थलगत निरीक्षण गर्छौं । सम्बन्धित क्षेत्र, निकाय र व्यक्तिबारे अध्ययन अनुसन्धान गर्छौं । वास्तविकता जे हो, जस्ताको तस्तै लेख्छौं ।

सभ्य, विकसित र पारदर्शी समाज निर्माण गर्नु हाम्रो दायित्व हो । तसर्थ, मिडियाकर्मी र नागरिकबीच सहकार्य गर्न आवश्यक छ । यदि तपाईंको गाउँठाउँमा हुने बेथिति, अनियमितताबारे सूचना दिनुहोस्, हामी समाचार लेख्नेछौं । समाचार स्रोतलाई बचाउने हाम्रो दायित्व हो । अनियमितता र बेथिति रोक्दै सभ्य समाज निर्माण गर्नु आजको आवस्यकता हो । यस पुनित कार्यका लागि हलेसीपाटी डटकमसँग सहकार्य गर्न अनुरोध गर्दछौं ।
जय हलेसी ।

मनोज गिरी
अध्यक्ष तथा प्रकाशक/सम्पादक
हलेसीपाटी डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार