
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।
प्रसनि थापाले हार्डवेयर सामान बिक्री–वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग तीन हजार ५०० घुस लिएको अवस्थामा रूपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित एक रेष्टुरेन्टबाट घुससहित आयोगले नियन्त्रणमा लिएको हो । उनले पटक–पटक सो क्षेत्रका व्यापारीमाथि घुस माग्दै दुःख दिई व्यवसायमा कठिनाइ पुर्याएकोसमेत अख्तियारले जनाएको छ ।
प्रसनि थापालाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार यादवले जानकारी दिए ।