कुवेतमा बिचल्ली परेकी महिला नेपाल फिर्ता

काठमाडौं । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्ली परेकी महाकाली गाउँपालिका (साबिक) वडा नं ८ नुवाकोटकी अनु तामाङलाई नेपाल फर्काइएको छ ।

राम्रो काम लगाइदिने आसमा ६ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कवेत पुगेकी तामाङ आफूले शारीरिक तथा मानसिक यातना भोगिरहनुपरेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तामाङलाई एयर अरबिया एयरलायन्सबाट नेपाल फर्काइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन् । पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल सुरु गरेका थिए । अहिले उनलाई छोरी सलिनाको जिम्मा लगाइएको छ ।

पछिल्लो समयमा यसरी गैरकानुनी रूपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुवेत र साउदी अरबलगायतका देशमा मानव बेचविखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ता गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार