वातावरणीय प्रभाव मूल्यांकनविनै सडक निर्माण


बाजुरा । जिल्लामा ग्रामीण सडक प्राविधिक योजनाविनै निर्माण हँुदै आएका छन् । वातावरणीय प्रभाव मूल्यांकन गरेरमात्र सडक निर्माण गर्नुपर्ने भए पनि यसतर्फ चासो दिइएको छैन ।
कुनै पनि योजना नबनाएर सडक निर्माण भइरहेका नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए । प्राविधिकले आफूखुसी डोजर प्रयोग गरिरहेको उनको भनाइ थियो । जिल्लाका नौ स्थानीय तहमा निर्माण हुन लागेका सडक योजनाविना निर्माण भइरहेका छन् ।
बूढीनन्दा नगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने बछौनदेखि घोडाकोटसम्मको सडक पनि योजनाविनै निर्माण हुन लागेको बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले बताइन् । वातारवरणीय प्रभाव मूल्यांकन गरेरमात्र ठेक्का गर्नुपर्ने भए पनि अध्ययनविना नै काम सुरु गर्न लागिएको उनको भनाइ थियो । आफूहरूले भन्दा पनि नगरपालिकाले नसुनेको उनको आरोप छ ।
उक्त नगरपालिका–४ का वडाध्यक्ष राजन रोकायाले बछौनदेखि घोडाकोटसम्म डेढदेखि दुई लाखसम्म बिरुवा फँडानी हुने बताए । सडकखण्डको करिब आठ किलोमिटर भागमा पूरै जंगलमात्र पर्ने उनले जानकारी गराए ।
स्थानीय, सामुदायिक उपभोक्ता समिति, समूह र आफूहरूको सहमतिविना नै सडक निर्माण हुन लागेको रोकायाको भनाइ थियो । कनकासुन्दरी सामुदायिक वन उपभोक्ता समितिले वन फँडानी हुन लागेकामा तत्काल सडक निर्माण रोक्काका लागि कोल्टी इलाका वन कार्यालयमा निवेदनसमेत दिएको समितिका सचिव जंग बोहाराले जानकारी दिए । उनले भने, ‘जंगलका सानासाना बिरुवा फँडानी हुने भएकाले तत्काल सडक खन्न रोक्न निवेदनमा माग गरिएको छ ।’
उक्त नगरपालिकाका निमित्त कार्यकारी लक्ष्मीराज देवकोटाले भने प्रारम्भिक वातावरण मूल्यांकन भइरहेको बताए । योजना सम्झौता भइसकेको छ, प्रतिवेदन नआउँदासम्म काम रोक्ने बताए । यो आर्थिक वर्षमा बाटोका लागि ८० लाख विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार