मर्कामा माझी

रवीन्द्र काफ्ले

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन् । निर्माणाधीन तमोर करिडोर सडक निर्माणक्रममा कुलो भत्किएपछि खेतमा सिँचाइको वैकल्पिक प्रबन्ध नहुँदा माझी समुदायले खेती लगाउन नपाएका हुन् ।
उक्त सडकको ट्र्याक खोल्नेक्रममा माझीटारमा सिँचाइका लागि ल्याइएको कुलो कोप्चेबिमिरे क्षेत्रमा भत्किएको छ । कुलो भत्किएपछि दुई वर्षदेखि माझी समुदाय बाँझो खेत हेरेर बस्न विवश छन् । तमोर नदी र हेवाखोलाबीचमा रहेको सिँचाइको वैकल्पिक प्रबन्ध हुन सकेको छैन ।
बाइस माझी परिवारले खेती लगाउने जमिन उनीहरूको आफ्नै होइन । यहाँ तीन याम खेती हुने गरेको थियो । प्रत्येक याममा यहाँ करिब २५० मुरी धान फल्थ्यो । यही खेत नै माझीको गुजाराको माध्यम थियो । यो खेत जिल्लाको नवमीडाँडाका आङ्देम्बे परिवारको जमिन हो । आफूसँग पाखोबारीमात्रै भएका माझी समुदाय पुस्तौंदेखि अधिया र कुतमा उक्त खेतमा खेती लगाई जीविका चलाउँदै आएका थिए तर सडक निर्माणक्रममा माझी कृषकद्वारा पुनःनिर्माण गर्नै नसक्नेगरी कुलो भत्काइएपछि जीविकोपार्जनमा गम्भीर समस्या आएको माझी समुदायका अगुवा जसबहादुर माझीको भनाइ छ । ‘मेरो मात्रै ६० मुरी धान फल्ने खेतमा ढुंगामात्रै थुप्रिएका छन् । अलिअलि भएको आफ्नो बारीसमेत भत्कियो,’ जसबहादुरले भने, ‘विकासले अरूलाई सुख र खुसी दियो तर हामीलाई पीडा र अभाव थोप¥यो ।’
माझीटारकै ममिता माझी आफूहरूको पीडा सुन्ने कोही नभएको दुःखेसो पोख्छिन् । ‘हामीले यही खेतबाट बच्चा पालेका थियौं, परिवार चलाएका थियौं,’ ममिताले भनिन्, ‘पुख्र्याैली पेसा संकटमा परेपछि खेतीमात्रै हाम्रो विकल्प थियो, अब खेतसमेत बाँझियो, हामीले कसरी गुजारा चलाउने ?’ अधिकांश माझी परिवार अहिले खेतीपातीमा जोडिएका थिए ।

संटमा पुख्र्याैली पेसा

विगतमा डुंगा खियाएर बराबर पैसा बाँड्ने, माछा मारेर बजारमा बिक्री गरी गुजारा चलाउने माझी समुदायका परम्परागत पेसा थियो । पाँचथर र तेह्रथुमको आठराई क्षेत्र जोड्न तमोर नदीमा दुई दशकअघि पुल बनेपछि डुंगा खियाउने पेसा अन्त्य भयो । त्यसपछि माछा मार्ने र बिक्री गर्ने उनीहरूको पेसा बन्यो तर पछिल्लोपटक जलविद्युत् आयोजनाको निर्माण र विद्युत्बाट माछा मार्ने परम्पराले यहाँको माछा क्रमशः मासिँदै गएको स्थानीय मंगलबहादुर माझीको भनाइ छ । अन्य समुदायले समेत माछा मार्न थालेपछि माझीको यो पेसासमेत संकटमा पर्दै गएको छ । यहाँको माछा देश–विदेशमा समेत चर्चित भए पनि माछाको घट्दो अवस्थाले उनीहरूमा चिन्ता थपेको छ ।
विद्युत्को सहायताले माछा मार्ने तथा जलविद्युत् उत्पादनक्रममा पानीमा मिसिएको रासायनिक पदार्थले माछा मासिँदै गएको उनीहरूको भनाइ छ । पछिल्लो सयम खेती र पशुपालनबाट गुजारा चलाइरहेका माझी परिवार अब कसरी परिवार धान्ने भन्ने चिन्तामा छन् । सडक निर्माणकै क्रममा फिदिम नगरपालिकातर्फ खेती गर्ने करिब एक दर्जन माझी परिवारको खेतसमेत बाँझिने अवस्था आएको स्थानीयको भनाइ छ ।

‘गाँउपालिकाको बजेटको प्रतिफल लिन पाएनौं’

हिलिहाङतर्फ सिँचाइको प्रबन्ध गर्ने कुलो बाढीले बगाएपछि गाउँपालिकाले तीन लाख बजेट नै छुट्याएर कुलो पुनःनिर्माण भएको थियो तर पुनःनिर्मित कुलोबाट सिँचाइ गर्नै नपाई सडकले उक्त कुलो भत्काएको ममिताको भनाइ छ । ‘गाउँपालिकाले हाम्रो दुःख बुझिदियो, तर तीन लाखको कुनै प्रतिफल लिन पाइएन,’ उनले भनिन् । खेती गर्न नपाएपछि स्थानीय तहदेखि प्रशासनसम्म गुहारे पनि कसैले समस्या समाधानको ठोस प्रयत्न नगरिदिएको जसबहादुरको भनाइ छ । ‘जग्गा हाम्रो नभएकै कारण सडक निर्माण गरिरहेका ठेकेदारले हाम्रो कुरा सुन्दैनन्,’ जसबहादुरले भने, ‘जग्गाधनीलाई कुनै क्षतिपूर्ति दिएको भए हामी जान्दैनौँ ।’

जीविकोपार्जनका लागि परम्परागत डुंगा बनाइँदै

माझी समुदायलाई जीविकोपार्जनमा समस्या परेपछि नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ फिदिम नगर परिषद्ले आम्दानीको वैकल्पिक माध्यम सिर्जना गर्ने तयारी गरेको छ । माझी समुदायको पहिचान तथा पर्यटकबाट आम्दानी लिन यहाँ तमोर नदीमा परम्परागत डुंगा (नाउँ) सञ्चालनको तयारी गरिएको हो । परिषद्का अध्यक्ष जलकुमार तामाङका अनुसार ७५ हजार बजेटमा काठको डुंगा सञ्चालनमा ल्याउन लागिएको हो ।
विगतमा नदी पार गर्न अनिवार्य रहेको डुंगालाई अब भने माझी समुदायको पहिचान स्थापित गर्न तथा पर्यटकबाट आम्दानी लिने माध्यमका रूपमा अघि बढाउन लागिएको हो । ‘यहाँ बाह्रै महिना आन्तरिक पर्यटकको भीड लाग्छ । परम्परागत डुंगामा रमाउने अवश्य पनि प्रशस्तै हुनुपर्ने हो,’ माझी अगुवा जसबहादुर भने । माझी समुदायले सिमलको रूखबाट परम्परागत डुंगा बनाउन लागेका हुन् । डुंगा सञ्चालनबाट प्राप्त आम्दानी समुदायलाई समानुपातिक रूपमा वितरण गर्ने तयारी गरिएको परिषद् अध्यक्ष तामाङको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार