बदमास बाँदर

बदमास बाँदर


पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतंकले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जंगलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ ।
आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताऐ । उनले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) एक हजार दाना आलु लगाएका थिए । ‘नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरिद गरेर आलु लगाएको, खन्न नपाउँदै बाँदरले खेतबाटै खाएर सखापै पा¥यो,’ बस्यालले भने । बस्यालले प्रतिदाना १५ रुपैयाँमा बीउ खरिद गरेर नयाँ प्रजातिको आलु लगाएका थिए ।
त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको आलु बाँदरले खेतमा पसेर नष्ट पारेको छ । उनको करिब एक रोपनी क्षेत्रफलमा लगाएको आलु बाँदरले पूरै खाएर नष्ट पारेको बताइन् ।
करिब २०० को समूहमा बाँदर गाउँमा एकैपटक पसेर अन्न, तरकारी बाली सबै नष्ट पार्न थालेछि यहाँका कृषक चिन्तित बनेका छन् । घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्न पनि खाइदिने गरेको छ । समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको नेत्र अर्यालले बताए । ‘घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो संख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ,’ अर्यालले थपे ।
खेतमा लगाइएका आलु, बन्दा, काउली, गहुँलगायतका बालीनाली बाँदरले खाएर नष्ट पार्न थालेपछि यहाँका कृषक चिन्तामा छन् । हुँगीको विशेषगरी च्याङलिङ नौगाउँका कृषक बढी बाँदर आतंकको मारमा परेका छन् । यहाँका कृषकको दिनचर्या हिजोआज बाँदरको रेखदेख गर्दैमा बित्ने गरेको छ । यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ । यस वर्ष बाँदर आतंकले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ ।
बाँदर आतंक नियन्त्रणसम्बन्धमा गाउँपालिकामा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् । ‘बाँदर छोपेर (समातेर) मात्र भएन, यसको दिगो व्यवस्थापन कसरी गर्न सकिएला भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ,’ अध्यक्ष भण्डारीले भने । बाँदर छोपेर राष्ट्रिय निकुञ्जमै पु¥याउने विषयमा सरोकारवाला निकाय, व्यक्तिसँग सल्लाह भइरहेको अध्यक्ष भण्डारीले बताए । यस क्षेत्रमा विगत तीन वर्षयता बाँदर आतंक फैलिएको छ ।
रामपुरका विभिन्न स्थानमा पनि बाँदर आतंकले सताउन थालेको कृषक बताउँछन् । रामपुर नगरपालिकाका गाडाँकोट, दर्छा, बाहुनडाँडा, कटहरबारी, विक्रम्दी, खालीवनलगायतका क्षेत्रमा बाँदरले बर्सेनि सताउने गरेको छ । बाँदर नियन्त्रणसम्बन्धमा सम्बन्धित निकायले चासो नदिएको रामपुरका कृषकको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार